बारा सिम्रौनगढ। बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित किसनपुरमा वडा कार्यालयले विनियोजन गरेको करिब १० लाख रुपैयाँको बजेटबाट निर्माण भइरहेको सडकमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयवासीले गम्भीर गुनासो गरेका छन्।
स्थानीयका अनुसार करिब १८ मिटर लामो माटोको सडकमा ढलान गर्ने क्रममा आवश्यक मापदण्ड विपरीत पातलो रडलाई निकै फराकिलो दूरीमा राखेर कमजोर संरचना निर्माण भइरहेको छ। यसरी निर्माण गरिँदा सडकको दीर्घायु नहुने र सरकारी बजेटको दुरुपयोग भएको आशंका गरिएको उनीहरूको भनाइ छ।
स्थानीयवासीले असार मसान्तअघि जसरी पनि बजेट सकाउने उद्देश्यले हतार–हतारमा गुणस्तरहीन निर्माण कार्य भइरहेको आरोप लगाएका छन्। उनीहरूले यस्ता कार्यमा भ्रष्टाचार र कमिसनमुखी प्रवृत्तिले प्रश्रय पाएको दाबी गर्दै निर्माण कार्यको तत्काल प्राविधिक निरीक्षण गरी आवश्यक छानबिन गर्न माग गरेका छन्।
स्थानीयले यस विषयमा सम्बन्धित निकाय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँदै निर्माण कार्यको गुणस्तर परीक्षण, आर्थिक अनियमितताको छानबिन तथा दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरेका छन्।
हरेक वर्ष असार महिनाको अन्त्यतिर बजेट खर्च गर्न हतारिने प्रवृत्तिका कारण गुणस्तरहीन पूर्वाधार निर्माण हुने गरेको जनगुनासो यस वर्ष पनि दोहोरिएको स्थानीयको भनाइ छ। यस सम्बन्धमा वडा कार्यालयको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन ।


















