सिरहा — औरही गाउँपालिका मा मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरणसम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, आत्महत्याका जोखिम संकेत, कारण तथा रोकथामका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।अभिमुखीकरणमा मानसिक स्वास्थ्यले व्यक्तिको सोच्ने, महसुस गर्ने तथा दैनिक जीवनका चुनौतीहरूसँग सामना गर्ने क्षमतामा प्रत्यक्ष प्रभाव पार्ने बताइएको थियो। साथै, आत्महत्या गहिरो मानसिक पीडा, निराशा, डिप्रेसन तथा विभिन्न सामाजिक–आर्थिक समस्यासँग जोडिएको गम्भीर सार्वजनिक स्वास्थ्य समस्या भएको उल्लेख गरियो।
कार्यक्रममा आत्महत्याका जोखिम संकेतहरूबारे जानकारी दिँदै बारम्बार “बाँच्न मन छैन” वा “मर्न चाहन्छु” भन्ने अभिव्यक्ति दिने, अत्यधिक निराश तथा असहाय महसुस गर्ने, परिवार वा साथीभाइबाट टाढा रहने, व्यवहारमा अचानक परिवर्तन देखिने तथा सामाजिक रूपमा एक्लोपन महसुस गर्ने व्यक्तिहरू उच्च जोखिममा रहने बताइयो।
सहभागीहरूलाई आत्महत्याबाट जोगाउन परिवार, साथीभाइ तथा समुदायको सहयोग अत्यन्त आवश्यक रहेको भन्दै मानसिक तनाव वा डिप्रेसनमा रहेका व्यक्तिहरूलाई खुला संवाद गर्न, आफ्ना मनका कुरा विश्वासिलो व्यक्तिसँग साझा गर्न र आवश्यक परे हेल्पलाइन ११०० मार्फत परामर्श लिन आग्रह गरिएको थियो।

कार्यक्रममा नेपालमा आत्महत्याको अवस्था चिन्ताजनक रहेको तथ्य पनि प्रस्तुत गरिएको थियो। नेपालमा वार्षिक रूपमा करिब ७ हजारदेखि ८ हजारसम्म व्यक्तिले आत्महत्या गर्ने तथा दैनिक औसत २० देखि २२ जनाले ज्यान गुमाउने तथ्याङ्क प्रस्तुत गर्दै यसलाई गम्भीर सामाजिक चुनौतीका रूपमा लिनुपर्नेमा जोड दिइयो।
आत्महत्याका प्रमुख कारणहरूमा मानसिक स्वास्थ्य समस्या, डिप्रेसन, पारिवारिक तथा आर्थिक तनाव, लागू पदार्थको दुरुपयोग, सामाजिक बहिष्करण तथा दीर्घ रोगलाई औंल्याइएको थियो। विशेष गरी किशोर–किशोरी, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, लागू पदार्थ प्रयोगकर्ता, दीर्घरोगी, गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, शिक्षक तथा सुरक्षाकर्मीहरू बढी जोखिममा रहेको जानकारी दिइयो।

गोष्ठीमा सीमाकृत किशोर–किशोरी, सुरक्षाकर्मी, विद्यालयका शिक्षक तथा महिला स्वयंसेविकाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मानसिक स्वास्थ्यबारे सचेतना फैलाउन तथा आत्महत्या रोकथामका लागि समुदायस्तरमै समन्वय र सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।


















