सिरहा — सिरहा जिल्लाअन्तर्गत कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिकाका १३ वटा सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूका लागि एकीकृत पाठ्यक्रमसम्बन्धी तीनदिने कस्टमाइज तालिम तथा कार्यशाला सम्पन्न भएको छ।विद्यालय तहमा लागू गरिएको एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यार्थीको सिकाइ उपलब्धिलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा सम्बन्धित विद्यालयका शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।

तालिममा देव नारायण यादवडि .एन) ले सहजीकरण गर्नुभएको थियो। तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा एकीकृत पाठ्यक्रमको परिचय र संरचना, विषयगत पाठ्यक्रमका विशेषता, नवीन शिक्षण–सिकाइ प्रविधिको प्रयोग, कक्षा ४ र ५ को सिकाइ सहजीकरण, विद्यार्थी मूल्याङ्कन, प्रगति प्रतिवेदन तयार गर्ने विधि, जीपीए गणना गर्ने प्रक्रिया तथा विद्यार्थीहरूको प्रगति विवरण अभिलेखीकरण र प्रस्तुत गर्ने विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा व्यवहारिक रूपमा प्रयोग गरी सिकाइ प्रक्रियालाई थप गुणस्तरीय र विद्यार्थीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको समापन गर्दै आयोजक पक्षले यस्ता तालिमले शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि हुनुका साथै एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


















