जनकपुरधाममा उद्योग प्रशासनलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले दुईदिने ज्ञान हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। उद्योग विभागद्वारा आयोजित कार्यक्रममा उद्योगको स्किम अध्ययन, प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृति तथा उद्योग प्रशासनसम्बन्धी विविध विषयमा छलफल गरिएको थियो। कार्यक्रममा मधेश प्रदेशअन्तर्गत उद्योग, वाणिज्य तथा घरेलु उद्योगसँग सम्बन्धित कार्यालयका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।कार्यक्रममा उद्योग विभागकी निर्देशक उर्मिला खतिवडाले उद्योग प्रशासनमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि, कानुनी तथा प्रक्रियागत विषयमा एकरूपता कायम गर्ने तथा उद्योग दर्ता र सञ्चालन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। उनले सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन्। साथै, संघीय संरचनामा उद्योग प्रशासनको जिम्मेवारी विस्तार भइरहेकाले सम्बन्धित निकायबीच समन्वय र अनुभव आदानप्रदान महत्त्वपूर्ण रहेको उनले बताइन्।

कार्यक्रममा केमिकल इन्जिनियर आनन्द अर्यालले उद्योगको स्किम अध्ययन, उद्योगको प्रकृतिअनुसार वातावरणीय प्रभाव मूल्याङ्कन, IEE प्रतिवेदन तयारी प्रक्रिया तथा स्वीकृतिसम्बन्धी कानुनी व्यवस्थाबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए। उनले उद्योग सञ्चालनका क्रममा वातावरणीय दायित्वको पालना अपरिहार्य रहेकोमा जोड दिए।त्यसैगरी, वाणिज्य कार्यालय वीरगञ्जका प्रमुख सुनिल चौरसियाले उद्योग दर्ता, नवीकरण, अनुगमन, नियमन तथा विद्यमान कानुनी व्यवस्थाबारे जानकारी गराउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशासनिक प्रक्रियालाई सरल, छिटो र पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याए।घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख किशोरी शरण यादवले घरेलु तथा साना उद्योग प्रवर्द्धन, उद्यमशीलता विकास तथा कार्यालयबाट प्रदान गरिने सेवाबारे प्रस्तुतीकरण गरे। उनले स्थानीय तहसँगको सहकार्य, उद्यमीलाई उपलब्ध गराइने सेवा तथा उद्योग प्रवर्द्धनका चुनौती र सम्भावनाबारे आफ्नो धारणा राखे।
कार्यक्रममा उद्योग तथा वाणिज्य विभागकी शाखा अधिकृत उषा थपलियाले उद्योग प्रशासनसँग सम्बन्धित प्रक्रियागत तथा नीतिगत विषयमा सहजीकरण गरेकी थिइन्। सहभागीहरूले उद्योग प्रशासनमा देखिएका व्यावहारिक समस्या, IEE प्रतिवेदन स्वीकृतिका चुनौती, कानुनी जटिलता तथा समाधानका उपायबारे खुला छलफल गरेका थिए।दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा उद्योग प्रशासनमा कार्यरत कर्मचारीहरूबीच अनुभव आदानप्रदान, कानुन तथा कार्यविधिको साझा बुझाइ विकास तथा सेवा प्रवाहमा एकरूपता कायम गर्ने विषयमा विस्तृत छलफल भएको आयोजकले जनाएको छ। यस कार्यक्रमले उद्योग प्रशासनको क्षमता अभिवृद्धि गर्दै उद्योगी–व्यवसायीलाई छरितो, गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।


















