
सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको ‘छोटी भन्सार कार्यालय बरियारपट्टी’ बन्द गरिएको विषयप्रति सुखिपुर उद्योग व्यापार संघले गम्भीर ध्यानाकर्षण जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै कार्यालय पुनः स्थापना गरी नियमित सेवा सञ्चालन गर्न सरकारसमक्ष जोडदार माग गरेको हो।
मिति २०८३ वैशाख २१ गते राजपत्र भाग–३ मा प्रकाशित सूचनाअनुसार भन्सार कार्यालय बन्द गरिएको जानकारी विभिन्न सञ्चारमाध्यममार्फत प्राप्त भएपछि यस क्षेत्रका करिब ४ लाख नागरिक, व्यवसायी, किसान तथा सरोकारवालाहरू चिन्तित बनेको संघले जनाएको छ।
संघका अनुसार विगतदेखि सञ्चालन हुँदै आएको उक्त छोटी भन्सार कार्यालयले स्थानीय उत्पादनको आयात–निर्यात, राजस्व संकलन, रोजगारी सिर्जना तथा सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको थियो। तर कार्यालय बन्द भएपछि स्थानीय व्यापारी तथा सर्वसाधारणले टाढाको भन्सार कार्यालयमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ। यसले समय खर्च, आर्थिक भार तथा प्रशासनिक जटिलता बढाएको संघको भनाइ छ।
विज्ञप्तिमा सीमावर्ती क्षेत्रको आर्थिक विकास, व्यापार सहजीकरण तथा जनसुविधालाई ध्यानमा राख्दै तत्काल छोटी भन्सार कार्यालय पुनः स्थापना गरी आवश्यक जनशक्ति तथा पूर्वाधार व्यवस्थापन गर्न माग गरिएको छ। साथै स्थानीय व्यापार प्रवर्द्धनका लागि नियमित सेवा सुनिश्चित गर्न तथा सीमावर्ती आर्थिक गतिविधि विस्तारका लागि विशेष योजना लागू गर्न सरकारलाई आग्रह गरिएको छ।
संघले नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग तथा सम्बन्धित निकायलाई जनभावनाको सम्मान गर्दै शीघ्र सकारात्मक निर्णय लिन आग्रह गरेको छ। मागप्रति बेवास्ता भए व्यवसायी, नागरिक समाज तथा सर्वसाधारण मिलेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।
उक्त विज्ञप्तिको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, केन्द्रीय भन्सार विभाग, मधेश प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय सिरहा लगायत विभिन्न निकायलाई पठाइएको जनाइएको छ।





© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav
© 2024 All copyrights reserved to Bahujan Aawaj | Developed By Er.Basant kumar yadav