समाजसेवा, निर्भिक पत्रकारिता, प्राध्यापन तथा विभिन्न राजनीतिक–सामाजिक अभियानमा सक्रिय योगदान पुर्याउँदै आएका रामरिझन यादव लाई ‘पद्मप्रसाद–कृष्ण कुमारी दाहाल सामाजिक सम्मान पुरस्कार–२०८२’ बाट सम्मान गरिएको छ । उहाँलाई नगद रु. १ लाख १ हजार १ सय २१ रुपैयाँसहित उक्त सम्मान प्रदान गरिएको हो ।वि.सं. २०१६ फागुन १७ गते सिरहाको सन्हैठामा जन्मिनुभएका यादव नेपाली तथा मैथिली भाषाका सशक्त स्रष्टाका रूपमा परिचित हुनुहुन्छ । उहाँका नेपाली र मैथिली भाषामा आठवटा कृति प्रकाशित भइसकेका छन् । भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका यादवले मधेश आन्दोलनमा समेत उल्लेखनीय योगदान पुर्याउनुभएको बताइन्छ ।
सामाजिक अभियन्ताहरूले यादवको योगदानको कदर सबैभन्दा पहिले आफ्नै समुदाय र मधेशका सरोकारवालाहरूबाट हुनुपर्ने उल्लेख गर्दै ढिलै भए पनि उहाँको निष्ठा र संघर्षको सम्मान हुनु सकारात्मक सन्देश भएको बताएका छन् । उनीहरूले यस्तो सम्मानले समाजमा समर्पित व्यक्तित्वहरूलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।दाहाल प्रतिष्ठानले उहाँको दीर्घकालीन सामाजिक तथा वैचारिक योगदानलाई सम्मान गर्दै उदाहरणीय कार्य गरेको प्रतिक्रिया पनि सार्वजनिक भइरहेको छ ।सम्मानपछि शुभेच्छुकहरूले “साधनाको फल ढिलो होला, तर व्यर्थ जाँदैन” भन्दै यादवको वैचारिक स्पष्टता, निस्वार्थ सेवा र समाजप्रतिको समर्पणको खुलेर प्रशंसा गरेका छन् । साथै उहाँको योगदानलाई मधेशी समुदायले अझ व्यापक रूपमा बुझ्ने र सम्मान गर्ने विश्वाससमेत व्यक्त गरिएको छ ।


















