सिरहा ।सुखिपुर नगरपालिका का विभिन्न वडाहरूमा अहिले पिपिआर (PPR) विरुद्धको भ्याक्सिन अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ। हिजो वडा नम्बर ९ मा करिब ८ सय बाख्रा–बाख्रीलाई पिपिआर भ्याक्सिन लगाइएको थियो भने आज दैहिपौडि क्षेत्रअन्तर्गत वडा नम्बर १० मा करिब १ हजार बाख्रा–बाख्रीलाई भ्याक्सिन दिइएको छ। साथै, भोलि वडा नम्बर १ मा पनि पिपिआर भ्याक्सिन लगाउने कार्यक्रम जारी रहने जनाइएको छ।पिपिआर बाख्रा तथा भेडामा फैलिने अत्यन्त संक्रामक र घातक रोग भएकाले समयमै खोप लगाउनु नै सबैभन्दा प्रभावकारी बचावटको उपाय मानिन्छ।
यस अभियानले किसानहरूलाई आफ्ना पशु सुरक्षित राख्न ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।सुखिपुर नगरपालिका मा सञ्चालन भइरहेको पिपिआर भ्याक्सिन अभियानमा पशु शाखाका प्रमुख रामगणेश महतो, भ्याक्सिनेटर रामवरण यादव तथा रामकिशुन दास सक्रिय रूपमा खटिएका छन्। प्रत्येक वर्ष यस पालिकामा बाख्रा–बाख्रीलाई पिपिआर रोगबाट सुरक्षित राख्न नियमित रूपमा खोप कार्यक्रम सञ्चालन गरिँदै आएको छ।यस वर्ष पनि विभिन्न वडाहरूमा अभियानलाई निरन्तरता दिँदै सयौँ बाख्रा–बाख्रीलाई पिपिआर भ्याक्सिन लगाइएको छ। पशु शाखाका अनुसार समयमै खोप लगाउँदा बाख्रा तथा भेडामा फैलिने घातक पिपिआर रोग नियन्त्रण गर्न सहज हुने विश्वास गरिएको छ।

- के हो यो पिपिआर ? कसरी बच्ने ? कस्तो हुन्छ यसका लक्षंहरु ?
बाख्रा तथा भेडामा देखिने अत्यन्त संक्रामक विषाणुजन्य रोग पिपिआर (PPR) को जोखिम बढ्दै गएको भन्दै पशु स्वास्थ्य विज्ञहरूले किसानलाई सतर्क रहन आग्रह गरेका छन् । किसानहरूको भाषामा ‘बाख्राको हैजा’ भनेर चिनिने यो रोग समयमै नियन्त्रण गर्न नसकिए ठूलो क्षति हुन सक्ने जनाइएको छ ।पशु स्वास्थ्यकर्मीका अनुसार पिपिआर रोग लागेपछि बाख्रा तथा भेडामा अचानक 104 डिग्रीदेखि 106 डिग्री फरेनहाइटसम्म ज्वरो आउने, नाक तथा आँखाबाट पानी जस्तो सिंगान बग्ने र पछि बाक्लो पीप बन्ने लक्षण देखिन्छ । त्यस्तै मुख, गिजा र जिब्रोमा घाउ आउने, गन्हाउने पखाला लाग्ने तथा स्वाँ-स्वाँ गर्दै सास फेर्न गाह्रो हुने समस्या पनि देखापर्ने गर्दछ ।

यो रोग बिरामी जनावरको र्याल, सिंगान, दिसा–पिसाबको सम्पर्कबाट सजिलै सर्ने पशु प्राविधिकहरूले बताएका छन् । एउटै खोरमा राख्दा, एउटै भाँडामा दाना–पानी खुवाउँदा तथा हावाको माध्यमबाट पनि छोटो दूरीसम्म भाइरस फैलिन सक्ने जनाइएको छ ।विशेषज्ञहरूका अनुसार पिपिआर रोगको ठोस उपचार नभए पनि ‘सेकेन्डरी इन्फेक्सन’ रोक्न पशु चिकित्सकको सल्लाहमा एन्टिबायोटिक तथा ज्वरो कम गर्ने औषधि प्रयोग गर्न सकिन्छ । साथै मुख सफा राख्न पोटास पानी प्रयोग गर्ने, ग्लिसरिन लगाउने तथा जीवनजल वा ग्लुकोज पानी खुवाएर शरीरमा पानीको कमी हुन नदिन सुझाव दिइएको छ ।

रोगबाट बच्न नियमित खोप लगाउनु सबैभन्दा प्रभावकारी उपाय मानिएको छ । स्वस्थ बाख्रा तथा भेडालाई वर्षमा एक पटक पिपिआर खोप लगाउनुपर्ने र एक पटकको खोपले करिब तीन वर्षसम्म सुरक्षा दिने पशु सेवा केन्द्रले जनाएको छ ।त्यस्तै नयाँ किनेर ल्याइएका जनावरलाई कम्तीमा २१ दिनसम्म छुट्टै राख्ने, खोरमा नियमित सरसफाइ गर्ने, चुना वा पोटास छर्कने तथा बिरामी जनावरलाई तत्काल अलग राख्नुपर्ने सुझाव दिइएको छ । मरेका जनावरलाई गहिरो खाडलमा पुरेर व्यवस्थापन गर्न समेत आग्रह गरिएको छ ।दि गाउँ वा फार्ममा यस्ता लक्षण देखिएमा ढिला नगरी नजिकैको पशु सेवा केन्द्र वा पशु स्वास्थ्य प्राविधिकसँग सम्पर्क गर्न किसानलाई अनुरोध गरिएको छ ।


















